दफा
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड गठन गर्ने
(१) दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले काठमाडौं उपत्यकाभित्रका नगरपालिका क्षेत्रको खानेपानी सेवा तथा सरसफाई सेवालाई नियमित, व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्न गराउनको लागि छुट्टै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बोर्ड गठन गर्दाका बखत काठमाडौं उपत्यकाका नगरपालिकाहरुको सेवा प्रणालीबाट कुनै गाउँपालिका वा त्यसको कुनै भागमा समेत सेवा सञ्चालन भइरहेको रहेछ भने त्यस्तो गाउँ विकास समिति वा त्यसको कुनै भागसमेत बोर्डको भौगोलिक क्षेत्रभित्र समावेश गर्न सकिनेछ ।
(३) उपदफा (१) बमोजिम बोर्ड गठन भएपछि नेपाल सरकारले काठमाडौं उपत्यकाभित्र संस्थानद्वारा सञ्चालन तथा व्यवस्थापन भइरहेको सेवा र सोसँग सम्बन्धित सेवा प्रणाली, सम्पत्ति तथा दायित्व बोर्डलाई तोकिएबमोजिम हस्तान्तरण गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम बोर्ड गठन गर्दाका बखत काठमाडौंं उपत्यकाभित्रका नगरपालिका क्षेत्रमा कुनै सरकारी निकायले सेवा उपलब्ध गराइरहेको भए त्यसको सेवा प्रणालीसमेत नेपाल सरकारले यस दफाबमोजिम गठित बोर्डलाई हस्तान्तरण गर्न सक्नेछ ।
(५) यो ऐन प्रारम्भ हुँदाका बखत सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याई उपत्यकाको सेवा प्रणालीभित्र समावेश गर्ने सम्बन्धमा सञ्चालनमा रहेको मेलम्ची आयोजना सम्पन्न भएको एक वर्षभित्र सो आयोजनाका सम्पूर्ण संरचना तथा त्यस्तो संरचनामा जडित उपकरणहरु र सोसँग सम्बद्ध दायित्व नेपाल सरकारले तोकिदिएबमोजिम उपदफा (१) बमोजिम गठित बोर्डमा हस्तान्तरण गर्नेेछ ।
(६) उपदफा (५) बमोजिम त्यस्तो आयोजनाका संरचना तथा उपकरणहरु हस्तान्तरण भएमा सो आयोजनाअन्तर्गत निर्मित संरचना, त्यसमा जडित उपकरण तथा सेवा प्रणाली यस दफाबमोजिम गठित बोर्डमा स्वतः सरेको मानिनेछ र त्यसको मर्मत, सम्भार तथा विस्तार गर्ने दायित्व सोही बोर्डको हुनेछ ।
(७) उपदफा (५) बमोजिम आयोजनाका संरचना तथा उपकरणहरु हस्तान्तरण गर्दा सो संरचना र उपकरण वा सेवा प्रणालीसँग सम्बद्ध कर्मचारीहरु आवश्यकता अनुसार यस दफाबमोजिमको बोर्डमा सार्न सकिनेछ ।
(८) दफा ६ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) आफ्नो भौगोलिक क्षेत्रभन्दा बाहिरबाट प्राकृतिक स्रोतको पानी पथान्तरण (डाइभर्सन) गरी आफ्नो भौगोलिक क्षेत्रभित्र सेवा उपलब्ध गराउन त्यस्तो पानी प्राप्त गर्ने तथा सो सम्बन्धमा अन्य व्यक्तिसँग प्रचलित कानूनबमोजिम सम्झौता गर्ने,
तर आफ्नो भौगोलिक क्षेत्रभन्दा बाहिरबाट पथान्तरण (डाइभर्सन) गरी आफ्नो भौगोलिक क्षेत्रभित्र पानी ल्याउँदा सो क्षेत्रका स्थानीय निकाय वा उपभोक्तालाई मनासिब रकम दिन सक्नेछ ।
(ख) यो ऐन प्रारम्भ हुँदाका बखत कुनै नगरपालिका वा सेवाप्रदायकले सञ्चालन गरिरहेको सेवा प्रणाली हस्तान्तरण गरी लिन आवश्यक भएमा मनासिब क्षतिपूर्ति दिई त्यस्तो सेवा प्रणाली आफ्नो स्वामित्वमा लिई सञ्चालन तथा व्यवस्थापन गर्ने गराउने,
(ग) प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक आफ्नो भौगोलिक क्षेत्रभित्र भूमिगत स्रोतबाट पानी निकाल्ने र उपयोग गर्ने कार्यलाई तोकिएबमोजिम नियमित, नियन्त्रण वा निषेध गर्ने तथा आवश्यकता अनुसार त्यस्तो पानी निकाल्न वा उपयोग गर्न तोकिएबमोजिम अनुमतिपत्र प्रदान गर्ने ।